Home  About us  Activities  Contact  Feedback  Photo

माओवादीहरुको चेतनास्तर कमजोर छ - झलनाथ खनाल, अध्यक्ष, नेकपा (एमाले)

महाधिवेशनको म्यान्डेटअनुसार एमालेले गति लियो त?
– महाधिवेशनपछि एमाले केन्द्रीय कमिटीका दुइटा बैठक सम्पन्न भए। केन्द्रीय कमिटीको दोस्रो बैठकले नेताहरुको कार्यविभाजन गरी पार्टीको कार्ययोजना पारित गरेको छ। अहिले हामी त्यो कार्ययोजना लागू गर्न देशव्यापीरुपमा लागिपरेका छौँ।
पार्टीमा उत्साहपूर्ण अवस्था देखिँदैन नि?
– यो एकखाले कुप्रचारको परिणाम हो। नेकपा एमालेमा आठौं महाधिवेशनपछि गतिहीनता र शिथिलता छायो भनेर एक थरिले प्रचार गरे। जे सुकै उद्देश्यले प्रचार गरुन्, ती प्रचारकलाई मेरो भन्नु केही छैन। तर, नेकपा एमाले आफ्नै ढाँचा र शैलीका साथ गतिशील भएर अघि बढ्दैछ। केही समयभित्रै एमालेले आफ्नो विकास, विस्तार र सुदृढीकरणको क्षेत्रमा राष्ट्रव्यापी लहर ल्याउँदैछ।
पार्टीमा नेताबीच भाले जुधाइ छ रे नि त?
– मलाई थाहा छैन कुन भालेहरु जुध्दैछन्।  म पार्टीको आठौं महाधिवेशनले पारित गरेको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा एमालेलाई राष्ट्रव्यापी रुपमा पुनर्गठन र पुनर्निर्माण गर्दै यसलाई जनाधारित, जनव्यापी पार्टीमा रुपान्तरण गर्ने संकल्प लिएर अघि बढिरहेको छु।


तपाईं आफैंले पार्टीमा गुटबन्दी भएको बताउनुभयो नि?
– गुटबन्दीपूर्ण प्रवृत्तिहरु धेरै लामो कालदेखि एमालेमा छन्। ती प्रवृत्तिहरुविरुद्ध जुध्ने र उन्मूलन गर्ने काम गर्नुपर्छ। एमालेमा विचारधारात्मक काम राम्रोसँग हुन नसक्नाका कारणले अनेक खालबाट निम्न पूँजीवादी चिन्ताका बाढीहरु पार्टीमा पसेका छन्। ती गलत विचारहरुले व्यक्तिवादलाई हुर्काएको छ भने अराजकतावाद, गुटवादिताले प्रश्रय पाएको छ। नेता/कार्यकर्तामा पदलोलुपता, सहरमुखी सुविधामुखी प्रवृत्ति बढेको छ। तथापि हामी तमाम प्रवृत्तिलाई बढारेर एमालेलाई क्रान्तिकारी विचारले युक्त पार्टीमा रुपान्तरित गर्न संकल्पित छौं।
गुटबन्दी कसले गरेको छ?
– व्यक्ति तोक्नु पर्दैन। गुटबन्दीपूर्ण प्रवृत्तिहरु विभिन्न रुपमा पाउन सकिन्छ। एउटा व्यक्तिमा मात्र होइन, अनेक व्यक्तिमा यसखाले चिन्तन, प्रवृत्ति उभिएका छन्। तिनलाई गोडमेल गर्दै गुटबन्दी, अराजकतावादी प्रवृत्तिलाई हामी उन्मूलन गरेरै छोड्छौं।
बुटवल महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी केपी ओलीसँग कस्तो छ तपाईंको सम्बन्ध?
– म उहाँलाई प्रतिस्पर्धी नै मान्दिन। आठौं महाधिवेशनमा उहाँ पनि अध्यक्ष लड्नुभयो। उहाँले नलड्नुपर्थ्यो तर पनि लड्नुभयो। हामीले निर्वाचनको पद्धतिद्वारा एउटा निर्णय गर्यौं । कुरा यति मात्र हो। उहाँलाई म स्थायी प्रतिस्पर्धी जस्तो ठान्दिन। उहाँ पनि एउटा पार्टी नेता हो। योग्यता बमोजिमको काम उहाँले गर्नुहोस् भन्ने म ठान्छु।
तपाईंले वर्तमान सरकारलाई सहयोग नगरेको कुरा पनि आएका छन् नि?
– नेपालमा केही यस्ता मान्छे पनि छन्– अरुको विरोध र आलोचना नगरी उनीहरुलाई खान रुच्दैन। यस्तै काम बिनाका बेरोजगार तत्वहरुले फैलाएका यी कुप्रचारहरु हुन्। मैले कमरेड माधवकुमार नेपाललाई आफैं प्रस्ताव गरेर प्रधानमन्त्री बनाएको हुँ। मैले आफैं बनाएको सरकारलाई समर्थन नगर्ने कुन चाहिँ कारण हुन्छ र।
कहिलेसम्म टिक्छ यो सरकार?
यो सरकार आफ्नो आयुभरि पूर्णरुपले टिक्छ।
भनेको?
– जहिलेसम्म बहुमत रहन्छ त्यसबेलासम्म सरकार टिकिरहन्छ।
राजनीतिक बजारमा त माओवादीले तपाईंलाई प्रधानमन्त्री प्रस्ताव गरेको चर्चा छ नि?
– मलाई प्रधानमन्त्रीको प्रस्ताव सबभन्दा पहिले गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो। त्यसपछाडि अरुहरुले पनि ल्याएका छन्। तर जस–जसले जुन बेलामा प्रस्ताव ल्याए, म त्यो बेलामा प्रधानमन्त्री बन्न चाहिनँ। म प्रमुख पार्टीहरुका बीचमा एकताको पक्षधर हुँ। विभिन्न ढंगले ती शक्तिहरुलाई खण्डित गर्ने गरी विभिन्न 'अफर' नेताहरुलाई दिने, महत्वाकांक्षा जगाइदिने काम हुने गरेका छन्।  
माओवादीले सरकारमा आउदिन भनेको छ नि?
– संविधान निर्माण र राज्यको पुनर्संरचना गर्नका लागि कम्तिमा पनि एमाले, कांग्रेस र माओवादीबीच समझदारी र एकता हुनैपर्छ। तीन शक्तिबीचको समझदारी इतिहासको अनिवार्य आवश्यकता हो। यो सत्यलाई अस्वीकार गर्नु मुलुकलाई दक्षिणपन्थी खाडलमा लगेर हाल्नु हो।
माओवादीले मुलुकलाई दक्षिणपन्थी खाल्डोमा हाल्दैछ?
– माओवादीभित्र उग्रवामपन्थी चिन्तनहरु छन्। उनीहरुले लान नै चाहे भने उग्रवामपन्थी खाडलतर्फ लाने हो। विभिन्न पार्टीभित्र रहेका गलत चिन्तन र प्रवृत्तिको अन्तरसंघर्षको प्रश्न एक ठाउँमा छ। ती कुरा रहँदारहँदै प्रमुख पार्टीहरुबीचको एकता मुलुकको आवश्यकता हो।
त्यसका लागि माओवादी सरकारमा आउनुपर्यो् नि?
– माओवादीलाई समेत संलग्न गर्ने वातावरण बनाएर सर्वदलीय सरकार अथवा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने काममा हामी लाग्नुपर्छ। माओवादीलाई सरकारमा सहभागी हुन हामीले पटक–पटक भनिरहेका छौं। तर पनि माओवादी यो सरकारमा सामेल हुन चाहिरहेको देखिँदैन। यसलाई गम्भीरतापूर्वक लिँदै वातावरण अझ बढी सङ्लो कसरी बनाउने निरन्तर प्रयत्न गर्नुपर्छ।
सहमति नहुनुमा दोषी सरकार हो कि माओवादी?
– मुख्य दोष अहिले प्रमुख पार्टीहरुभित्र छ। प्रमुख पार्टी सबैले एक अर्कालाई दोष थोपर्ने होइन। तीनवटै पार्टी एक आपसमा बसेर समझदारी के कारणले टुट्दैछ त्यसको खोजी गर्नुपर्छ।
माओवादी यो सरकारमा सहभागी हुनुपर्छ कि पर्दैन?
– यो त कुनै प्रश्न नै भएन। जब तीनवटा प्रमुख पार्टीको बीचमा एकता हुनुपर्छ र राष्ट्रिय सहमतिको सरकार हुनुपर्छ भनेपछि नेकपा माओवादी बाहेकको सरकारको कल्पना कसरी गर्नुहुन्छ?
अर्को सरकार गठन गरेर भए पनि माओवादीलाई सरकारमा ल्याउनुपर्छ भन्न खोज्नु भएको हो?
– हामी संविधान बनाउन, शान्ति प्रक्रियालाई पूर्णतामा पुर्याभउन चाहन्छौं कि चाहँदैनौं? प्रश्न यो हो। सरकार त जसरी पनि गठन गर्न सकिन्छ। सरकारका अनेक रुप हुनसक्दछन्।  
त्यो परिस्थिति निर्माणका लागि माधव नेपालले सत्ता छोड्नुपर्छ?
– माधव नेपालले सत्ता छोड्ने वा नछोड्ने प्रश्न होइन। जस कसैले पनि राष्ट्रका हितमा त्याग गर्न सक्नुपर्छ।
भनेपछि यो सरकारको आयु धेरै लामो छैन?
– तीनवटा पार्टीको बीचमा समझदारीको प्रक्रिया सुरु भएको छ। हामीले एउटा संयन्त्र निर्माण गर्ने निर्णय गरेका छौं। यो प्रक्रियामा समझदारी निर्माण भयो भने यही सरकार विस्तार भएर संविधान बनाउने प्रक्रिया टुंगिन पनि सक्छ। तर, यो प्रक्रियाबाट भएन भने कुन प्रक्रियाबाट हुन्छ संविधान बनाउने सुनिश्चित बाटो खोज्नैपर्छ।
सरकारलाई त कठपुतली भनेको छ नि माओवादीले?
– आफ्नो चरित्र जस्तो छ अरुलाई पनि त्यो ढंगले मान्छेले टिप्पणी गर्न खोज्छन्। आकाशतिर फर्केर थुकिने थुक आफ्नै अनुहारमा पनि पर्छ भन्ने कुरा माओवादीका नेताहरुले भुल्नु हुँदैन।
सरकार कठपुतली हो कि होइन?
– यो सरकारमा हामी आफैँ छौं। हामी आफैं कठपुतली हुन सक्छौं। यो आवेगमा, आक्रोशमा बदलाको भावनाले बोलिने शब्दहरु हुन्, यस्ता शब्दको पछाडि लागिरहन जरुरी ठान्दिन म।
यो सरकारको विकल्प छ कि छैन?
– यो दुनियाँमा निर्विकल्प भनेर राजा महेन्द्रले पञ्चायती व्यवस्था ल्याएका थिए। त्यो देखि बाहेक अरु कुनै चिज निर्विकल्प छैन।
माधव नेपालले यही सरकारले संविधान जारी गर्छ भनिरहनुभएको छ त?
– संविधान बनाउने र शान्ति प्रक्रियालाई पूर्णता दिने उद्देश्यले नै यो सरकार बनेको हो। पार्टीले पनि त्यो कुरालाई पूर्ण साथ दिन्छ। तर, बनाउने कुराको सुनिश्चितता के त? यो प्रमुख प्रश्न हो।
संयन्त्रले झलनाथलाई प्रधानमन्त्री प्रस्ताव गर्यो भने?
– म कुनै पद स्वीकार गर्दिन। म पदका निम्ति काम गरिरहेको छैन। जनताले, पार्टीले, देशले दिएको जिम्मेवारी म पूरा गर्दै आएको छु। संविधान बनाउने ग्यारेन्टीका लागि म संकल्पित छु।
राजनीतिमा एमालेको स्थान कहाँ छ?
– एमालेले सिंगो देशलाई अगुवाइ गरिरहेको छ। लोकतान्त्रिक कम्युनिष्ट र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व एमालेले गर्दैछ। अहिले मुलुकको नेता भनेको एमाले हो। एक लाख ३८ हजार संगठित सदस्यलाई परिचालित गर्दै हामी अघि बढ्दैछौं। त्यसका लागि लाखौंलाख सदस्य भएका जनसंगठनलाई पनि परिचालित गर्दैछौं।
कम्युनिष्ट आन्दोलनमा मूलधारको लडाइँ छ, अबको मूलधार एमाले हो कि माओवादी?
– वैचारिक, राजनीतिक, सैद्धान्तिक, सांगठनिक दृष्टिले एमाले नै कम्युनिष्ट आन्दोलनको मूलधार हो। माओवादीलाई रुपान्तरण र पुनर्गठन गर्ने पार्टी एमाले नै हो। इतिहासले यो कुरा सिद्ध गरेर छाड्नेछ।
माओवादीले त आफूलाई दाबी गरिरहेको छ त?
– दाबी त धेरैले गर्न सक्छन्। दाबी गर्नेहरुले हावाकावा हुनुपर्छ।
संविधानसभाअघि बहुमत ल्याउने भन्नुहुन्थ्यो, तपाईंहरुको दाबीले पनि हावा खाइरहेको छ नि?
– संविधानसभाको निर्वाचनमा हामीले ठूलो धक्का खान पुग्यौं। त्यतिबेला हामीले ठूलो पराजय पनि भोग्नुपर्योा। यसबाट शिक्षा लिएर यसबीचमा नै एमाले त्यो धक्कालाई चिरेर जुर्मुराएर उठ्न थालिसकेको छ। बुटवलमा भएको जनताको उपस्थितिले नै त्यसलाई पुष्टि गरिसकेको छ। जनताको हृदयमा ऊ पहिलो पार्टी स्थापित भइसकेको छ। यसको प्रमाणीकरण आगामी निर्वाचनले गर्छ।
संविधान बन्छ समयमा?
– मेरो विश्वास छ बन्छ। तर, नेपालका सबै राजनेताहरुले संविधान बनाउने काम नै अहिलेको अर्जुनदृष्टि हो भनेर अघि बढ्न सक्नुपर्छ।
संविधान निर्माण कि सेना व्यवस्थापन?
– शान्ति प्रक्रियालाई पूर्णतामा पुर्यानउँदै संविधान निर्माण गर्नुपर्छ यो प्रमुख एजेन्डा हो। कांग्रेसले पनि माओवादीले पनि माओवादीका लडाकुलाई समायोजन गर्ने र पुनर्स्थापना गर्ने काममा साथ दिनुपर्छ। विशेष समिति तत्काल काम सुरु गर्नुपर्छ।
माओवादीबाट सहयोग नपाएको प्रधानमन्त्रीको भनाइ...
– काम गर्ने वातावरण बनाउने जिम्मा सरकारको हो। सहयोग गर्ने वातावरण बनाउने काम सबै दलको हो। प्रधानमन्त्रीको पनि हो। हाम्रो पनि हो।
राजनीतिमा माओवादी कति इमान्दार देख्नुहुन्छ?
– बेइमानहरु इमान्दाहरु जहाँ पनि हुन्छन्। तसर्थ एउटा पार्टीलाई बेइमान र इमान्दार भन्न उचित हुँदैन। त्यसमाथि अहिले हामी सहकार्यको दौरानमा छौं।
माओवादीका नेताले सेनापति प्रकरणमा तपाईंले धोका दिएको सार्वजनिक आरोप लगाए नि?
– यसमा मेरो केही टिप्पणी छैनन्। विभिन्न चेतना स्तर भएका मान्छेले आफ्नो स्तर अनुसारका कुरा ओकल्छन्। त्यस्ताप्रति टिठ मात्र व्यक्त गर्न सकिन्छ।
सेनापति प्रकरणमा माओवादीलाई धोका दिएको होइन?
– विल्कुल होइन। रुक्मांगत कटवाललाई स्पष्टीकरण माग गर्न मैले स्वीकृति दिएको हँु। यसमा मलाई कुनै पश्चाताप छैन। मैले जेगरेको थिएँ एकदम ठीक गरेको थिएँ।
पार्टीबाट पास गराउन त सक्नु भएन नि?
– मेरो सोच मसँग छ। तर, पार्टीले त्यो कुरालाई मानेन।
धोका त पाएछ नि माओवादीले?
– तर, झलनाथले दिएको होइन।
एमालेले दियो?
– प्रकारान्तरले जे हुन्छ त्यो त पायो नै। झलनाथले धोका दिएको होइन भन्ने कुरा अब तपाईंले बुझ्नुपर्ने हो।
यसले पार्टीमा तपाईं कमजोर देखिनुभयो नि?
– समग्रतामा सेनालाई जुन ढंगले विवादमा मुछ्ने काम भयो। सेनालाई अब विवादबाट हामी मुक्त गर्दैछौं। यसमा नेकपा एमालेको सफलतै छ।
मुलुकको राष्ट्रियता खतरामा रहेको भनिन्छ नि?
– यो मुलुकको राष्ट्रियताप्रति सबै राजनेताहरु गम्भीर हुन जरुरी छ। मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डताको रक्षा गर्ने र त्यसलाई सुदृढ गर्ने काममा सतर्क भएर जान जरुरी छ।
को बाट छ खतरा?
– हाम्रो देशकै कतिपय शक्तिहरुबाट। जो विदेशीको इसारामा चल्छन्। नेपाल स्वतन्त्र र शक्तिशाली भएको देख्न चाहँदैनन्, तिनीहरुबाट खतरा छ। यसमा सञ्चार माध्यमले विशेष ध्यान दिनुपर्छ।
उपराष्ट्रपतिको शपथ प्रकरणप्रति के भन्नुहुन्छ?  
– सर्वोच्च अदालतको फैसलालाई सबैले सम्मान गर्नुपर्छ। नेपालका मातृ भाषामा शपथ लिन रोक्नुपर्छ भन्नेमा म छैन। विदेशी भाषामा शपथ लिनु उपयुक्त हुँदैन।
हिन्दी मातृभाषा होइन?
– मैले नेपालमा जति जाति, जनजाति देखेको छु, कसैले पनि हिन्दीलाई मेरो मातृ भाषा हो भनेका छैनन्।
मुलुक विखण्डन गराउने षड्यन्त्र भइरहेको त होइन?
– मुलुकमा विखण्डनवादी तत्वहरु विभिन्न ढंगले सक्रिय छन्। कोही एक मधेस एक प्रदेश भन्छन्, कोही हिमाली प्रदेश भन्छन्। यसप्रति हामी सतर्क हुँदै वैज्ञानिक ढंगले राज्यको पुनर्संरचना गर्ने दिशामा जानुपर्छ।

-- दृष्टी



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com