काठमाडौं, २५ असार
निर्धारित समयमै संविधान निर्माण, राज्य पुनर्संरचना र
तीव्र आर्थिक विकासलाई मुख्य प्राथमिकतामा राखेर एमाले नेतृत्वको
गठबन्धन सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विपक्षी
माओवादीका तीनजना र सत्तारु गठबन्धनका सबैजसो सदस्यको उपस्थितिमा
संसद्को बिहीबारको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति डा. रामवरण
यादवले नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
सार्वजनिक गरिएको नीति तथा
कार्यक्रममा विगतका सरकारहरूले ल्याएका केही कार्यक्रमलाई समावेश
गरिएको छ भने केही नयाँ कार्यक्रम थपिएका छन् । ०५१ सालको अल्पमतको
एमाले सरकारले ल्याएका लोकपि्रय कार्यक्रम 'आफ्नो गाउँ, आफैं
बनाऊँ' र 'नौ स' को कार्यक्रमलाई नीति तथा कार्यक्रममा समावेश
गरिएको छ । त्यस्तै, माओवादी नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएका
केही कार्यक्रमलाई पनि सरकारले आफ्नो कार्यक्रममा समावेश गरेको छ ।
सरकार र माओवादीबीच भएका सहमति र
सम्झौताका आधारमा नयाँ संविधान निर्माण हुनुअघि नै माओवादी
लडाकुहरूको व्यवस्थापन गरिसक्ने सरकारको नीति तथा कार्यक्रममा
उल्लेख छ ।
औद्योगिक सुरक्षा, सुरक्षा अंग र
निजामती कर्मचारीलाई राजनीतिबाट मुक्त राख्दै स्वतन्त्र र निष्पक्ष
बनाउने, माओवादी लडाकु तथा हतियारको रेखदेख, समायोजन, पुनस्र्थापना
र व्यवस्थापन गर्ने, बन्द/हड्तालको अन्त्य, ग्रामीण विद्युतीकरण,
विकास, जनसरोकार तथा रोजगारका कार्यक्रमलाई पनि सरकारले
प्राथमिकतामा राखेको छ ।
'निर्धारित समयभित्र राष्ट्रिय
सहमतिका आधारमा नयाँ संविधानको निर्माण, राज्यको पुनसर्ंरचना,
सामन्तवादको अन्त्य र आर्थिक-सामाजिक रूपान्तरणका साथै तीव्र
आर्थिक विकास सरकारका मुख्य प्राथमिकता रहेका छन्,' सरकारको नीति
तथा कार्यक्रममा उल्लेख छ ।
दलहरूबीच राष्ट्रिय सहमति कायम गरी
अराजकता, असुरक्षा र दण्डहीनताको अन्त्य गर्दै संवैधानिक
सर्वोच्चता, विधिको शासन र सुशासनको प्रत्याभूति, सहमति र
सम्झौताहरूको कार्यान्वयन तथा शान्तिप्रक्रियालाई सार्थक
निष्कर्षमा पुर्याउन सरकार प्रतिबद्ध रहेको कार्यक्रममा उल्लेख छ
।
'नेपाल सरकार र माओवादीबीच भएको
विस्तृत शान्तिसम्झौतालगायतका सम्झौताका प्रावधानअनुरूप माओवादी
सेनाका लडाकुहरूको रेखदेख, समायोजन र पुनस्र्थापना तथा हतियारको
व्यवस्थापन गरिनेछ । संविधान निर्माणले पूर्णता पाउनुअगावै माओवादी
सेनाका लडाकुहरूको रेखदेख, पुनस्र्थापना र समायोजनको कार्यसम्पन्न
गरिनेछ,' सरकारी कार्यक्रममा भनिएको छ । राजनीतिक सहमति र संसद्को
सुझाबअनुसार राष्ट्रिय सुरक्षा-नीति तर्जुमा गरिने कार्यक्रममा
उल्लेख छ ।
दण्डहीनताको अन्त्य र सुशासनको
प्रत्याभूति दिलाउन सुरक्षा अंग र कर्मचारीतन्त्रलाई राजनीतिबाट
मुक्त राखिने कार्यक्रममा उल्लेख छ । 'कानुनी राज्य र सुशासनको
प्रत्याभूतिका लागि निजामती प्रशासन, नेपाली सेना, सशस्त्र
प्रहरी बल र नेपाल प्रहरीलगायतका सुरक्षा निकायहरूको सञ्चालन
प्रचलित ऐन-कानुनका आधारमा गरिनेछ र दलीय राजनीतिबाट मुक्त
राखिनेछ,' कार्यक्रममा भनिएको छ ।
कर्मचारीहरूको कार्यदक्षतामा
अभिवृद्धि गर्न तथा स्वच्छ र दक्ष प्रशासनमार्फत जनविश्वास
पुनःआर्जन गर्न उच्चस्तरीय तलब आयोगको प्रतिवेदनलाई आधार मानी
उनीहरूको सुविधामा वृद्धि गर्दै लगिने नीति तथा कार्यक्रममा
उल्लेख छ । कर्मचारीको दक्षता अभिवृद्धि गर्न आगामी पाँच
वर्षभित्र विभिन्न तह र श्रेणीका कर्मचारीलाई न्यूनतम एकपटक
प्रशिक्षण दिने व्यवस्था मिलाउने सरकारी कार्यक्रममा भनिएको छ ।
बन्दका नाममा अत्यावश्यक सेवा र
प्रमुख मार्ग अवरुद्ध हुने कार्य रोक्न राष्ट्रिय सहमति कायम
गर्दै विशेष योजना सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।
त्यस्तै, 'शान्तिसुरक्षा, जनताको अपेक्षा' भन्ने अभियान सञ्चालन
गरी सुरक्षासम्बन्धी जनगुनासोको तत्काल सुनुवाइ हुने व्यवस्था
गरिने कार्यक्रममा प्रतिबद्धता गरिएको छ ।
रोजगारीलाई नागरिकको मौलिक हकका
रूपमा स्थापित गर्दै बेरोजगारीको रेखामुनि रहेका जनतालाई वर्षमा
कम्तीमा सय दिन राज्यले रोजगारी दिन पनि सरकारले कार्यक्रम
ल्याएको छ । 'गरिबीको रेखामुनि रहेका जनताका लागि वर्षभरिमा
न्यूनतम सय दिन रोजगारी राज्यले सुनिश्चित गर्न 'रोजगारी
प्रत्याभूति कार्यक्रम' सञ्चालन गरिनेछ । यसका लागि आवश्यक ऐन
तथा नियमको तर्जुमा गरिनेछ,' सरकारी कार्यक्रममा भनिएको छ ।
राष्ट्रको समग्र आर्थिक विकास तथा
औद्योगीकरणमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न आवश्यक भौतिक
पूर्वाधार तथा संरचनाको निर्माण गर्न सरकारको भूमिका प्रभावकारी
बनाइने सरकारी कार्यक्रममा उल्लेख छ । 'लगानीको वातावरण सिर्जना
गर्न औद्योगिक शान्ति कायम गर्दै नयाँ औद्योगिक नीति लागू गरिनेछ
। औद्योगिक क्षेत्रको सुरक्षाका लागि औद्योगिक सुरक्षा बल गठन
गरिनेछ,' सरकारी कार्यक्रममा उल्लेख छ ।
विगतको सरकारले ल्याएको लगानी
बोर्डको कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको छ ।
'प्रधानमन्त्रीको अध्यक्षतामा लगानी बोर्डको स्थापना गरी
राष्ट्रिय महत्त्वका निजी क्षेत्रको लगानीसम्बन्धी निर्णयहरूको
छिटो-छरितो कार्यान्वयन गरिनेछ । सार्वजनिक क्षेत्रको लगानीमा
निर्माण गरिने आयोजना र अन्य सार्वजनिक संस्थानको सेयर
स्वामित्वमा सर्वसाधारण जनताको पहुँचलाई सहज बनाइनेछ,' नीति तथा
कार्यक्रममा भनिएको छ ।
अघिल्लो सरकारले ल्याएको द्वन्द्व
प्रभावित तथा विस्थापितका लागि राहत तथा पुनस्र्थापनासम्बन्धी
कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिने भएको छ । द्वन्द्वका
क्रममा मारिएका र बेपत्ता पारिएकामध्ये राहत नपाएका परिवारलाई
राहत दिने र तथा विस्थापितको पुनस्र्थापना कार्यलाई निरन्तरता
दिइने, कब्जा गरिएको सम्पत्ति फिर्ता र क्षतिपूर्ति नपाएकालाई
क्षतिपूर्ति दिइने कार्यक्रममा उल्लेख छ ।
सरकारले द्वन्द्व प्रभावित ज्येष्ठ
नागरिकका लागि पाँचवटा विकास क्षेत्रमा एक-एकवटा 'आरोग्य आश्रम'
र ज्येष्ठ राष्ट्रिय प्रतिभाहरूको सम्मान र सुरक्षाका लागि
काठमाडौंमा 'सर्जक आश्रम' स्थापना गरिने सरकारी कार्यक्रममा
उल्लेख छ । त्यस्तै, अत्यन्त पिछडिएका र विपन्न दलित, लोपोन्मुख
जाति र सीमान्तकृत समुदायहरूलाई लक्षित गरी न्यून लागतको 'जनता
आवासगृह' को व्यवस्था गरिनेछ । यस कार्यक्रमलाई क्रमशः अन्य
समुदायमा विस्तार गर्दै लगिने सरकारी कार्यक्रममा उल्लेख छ ।
वृद्धवृद्धालाई सामाजिक सुरक्षा प्रदान गर्न तत्काल पाँच विकास
क्षेत्रमा वृद्धाश्रम निर्माण गर्ने सरकारको कार्यक्रम छ ।
त्यस्तै, बालबालिकाको भरणपोषण तथा
स्वच्छ विकासका लागि राज्यका तर्फबाट 'बालसंरक्षण अनुदान'को
व्यवस्था गरिने कार्यक्रममा उल्लेख छ । 'दलित, लोपोन्मुख तथा
सीमान्तीकृत जाति-जनजातिका परिवारबाट सुरु गरी यो सुविधा क्रमशः
सबै बालबालिकामा पुर्याउने व्यवस्था गरिनेछ,' नीति तथा
कार्यक्रममा भनिएको छ ।
गरिबीको रेखामुनि रहेका
परिवारहरूका लागि 'राज्य-सुविधा परिचयपत्र'को व्यवस्था गरिने
सरकारी कार्यक्रममा छ । 'गरिबीको रेखामुनि रहेका परिवारहरूको
जीवनस्तर उठाउन 'राज्य-सुविधा परिचयपत्र' प्रदान गर्ने कार्य
प्रारम्भ गरी यस्तो परिचयपत्र बाहकलाई शिक्षा, स्वास्थ्य,
खाद्यान्न, रोजगारीलगायतका सरकारी निकायबाट प्राप्त हुने
सुविधामा प्राथमिकता दिइनेछ,' कार्यक्रममा भनिएको छ ।
पुराना कार्यक्रम
- आफ्नो गाउँ आफैं बनाऊँ
- नौ 'स
’
को कार्यक्रम
- ग्रामीण विद्युतीकरण
- द्वन्द्वपीडितहरूलाई राहत, पुनस्र्थापना र क्षतिपूर्ति
- लगानी बोर्ड
- गाउँ-सहरमा सहकारी, घरघरमा रोजगारी
- एकीकृत सेवा केन्द्र स्थापना
नयाँ कार्यक्रम
- गरिबीको रेखामुनि रहेका जनताका लागि वर्षभरिमा
न्यूनतम सय दिन रोजगारी राज्यले सुनिश्चित गर्न 'रोजगारी
प्रत्याभूति कार्यक्रम'
-द्वन्द्वपीडित
ज्येष्ठ नागरिकलाई पाँच विकास क्षेत्रमा एक/एक वटा 'आरोग्य आश्रम’
-ज्येष्ठ
राष्ट्रिय प्रतिभाको सम्मान र सुरक्षाका लागि काठमाडौंमा 'सर्जक
आश्रम'
-दलित,
लोपोन्मुख र सीमान्तकृत समुदायका बालबालिकाका लागि 'बाल संरक्षण
अनुदान'
- गरिबीको
रेखामुनि रहेका परिवारहरूका लागि 'राज्य-सुविधा परिचयपत्र'को
व्यवस्था